काठमाडौं, कात्तिक ६। वेब प्रविधि PHP मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैङ्कले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ। सम्भावित साइबर सुरक्षा जोखिमबाट बच्न राष्ट्र बैङ्कले सेवा बन्द गर्दै बैङ्क तथा वित्तीय संस्थासहित सम्बन्धित निकायलाई समेत सतर्कता अपनाउन आग्रह गरेको हो।
राष्ट्र बैङ्कले शुक्रवार ‘अत्यन्त जरुरी सूचना’मार्फत PHP मा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। सूचनामा भनिएको छ, ‘वेब प्रविधि (PHP) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर राख्दै यस बैङ्कको वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको व्यहोरा जानकारी गराइन्छ।’
सेवा बन्द हुँदा बैङ्किङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैङ्कले क्षमायाचना गरेको छ। सेवा अवरुद्ध रहे पनि बैङ्कसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि आधिकारिक सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहन बैङ्कले अनुरोध गरेको छ।
राष्ट्र बैङ्कले आफ्नो वेबसाइट र सेवाहरू बन्द गरेर मात्र सुरक्षा सतर्कता अपनाउन खोजेको छैन, बैङ्किङ तथा भुक्तानी प्रणालीसँग जोडिएका अन्य निकायलाई पनि सम्भावित जोखिमप्रति सचेत गराएको छ।
सूचनामा बैङ्क तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ। ‘उक्त जोखिमलाई केन्द्रित गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन’ राष्ट्र बैङ्कले सम्बन्धित संस्थाहरूको ध्यानाकर्षण गराएको छ।
PHP वेब विकासमा व्यापक रूपमा प्रयोग हुने प्रविधि हो। यसमा देखिएको सुरक्षा जोखिमलाई लिएर राष्ट्र बैङ्कले आफ्ना डिजिटल सेवा अस्थायी रूपमा बन्द गरेको घटनाले बैङ्किङ तथा वित्तीय क्षेत्रको साइबर सुरक्षाको महत्त्वलाई पुनः उजागर गरेको छ।
राष्ट्र बैङ्कले जारी गरेको सूचनामा सेवा पुनः सञ्चालन हुने समय भने उल्लेख गरेको छैन।















प्रतिक्रिया दिनुहोस्