जनता टाइम्स

६ कार्तिक २०८३, शुक्रबार ०७:१०

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु


काठमाडौं, कात्तिक ६ । दक्षिणपश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समयअनुसार १०ः३३ बजे भूकम्प गएको हो। भूकम्पको गहिराइ १० किलोमिटर मात्र रहेकाले यसको धक्का निकै शक्तिशाली महसुस गरिएको भूगर्भविद्हरूले बताएका छन्।

भूकम्पको केन्द्रविन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा पर्ने नाग्छु क्षेत्रको बाकेन काउन्टीस्थित मरू गाउँपालिकामा रहेको थियो।

भूकम्पबाट प्रभावित क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार ३३९ भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्। भूकम्पलगत्तै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति र सञ्चार सम्पर्क विच्छेद भएको छ।

उच्च हिमाली भूगोल, सुक्खा पहिरो र चट्टान खस्दा सडक मार्ग अवरुद्ध भएका छन्। यसका कारण उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिन भइरहेको स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ।

भूकम्पपछिको अवस्थालाई सम्बोधन गर्न चिनियाँ अधिकारीहरूले प्रभावित क्षेत्रमा दोस्रो स्तरको आपत्कालीन उद्धार प्रणाली लागू गर्दै उद्धार टोली परिचालन गरेका छन्।