काठमाडौं, ६ कात्तिक । नेपालीको प्रमुख चाड बडादसैँमा पनि रोजगारी, अध्ययन र अन्य कामका लागि विदेशिने नेपालीको क्रम रोकिएको छैन।
दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पनि विदेश जाने यात्रुको भीड देखिएको छ। विदेशिने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा रहेका युवायुवती छन्। उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न र अन्य व्यक्तिगत कामका लागि विदेश जानेहरू पनि विमानस्थलमा देखिएका छन्।
चाडपर्वमा परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ। तर रोजगारी, आर्थिक अवसर र राम्रो भविष्यको खोजीमा युवाहरू विदेशिने क्रम बढ्दै गएको छ। यसले गाउँघर रित्तिँदै जाने र खेतबारी बाँझो रहने अवस्थासमेत निम्त्याएको छ।
रोजगारीका लागि विदेश जान लाग्नुभएका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेशिन बाध्य भएको बताउनुभयो।
“योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन। आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु,” उहाँले भन्नुभयो।
शिक्षा, स्वास्थ्य र परिवारको दैनिक खर्च व्यवस्थापनसँगै आर्थिक अवस्था सुधार्ने तथा भविष्यका लागि बचत गर्ने उद्देश्यले विदेश जान लागेको उहाँको भनाइ छ।
विमानस्थलमा भेटिनुभएका गुल्मीका प्रकाश खत्रीले स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा युवा पुस्ता भविष्य निर्माणका लागि विदेश जान बाध्य भइरहेको बताउनुभयो।
“नेपालमा रोजगारीको अवसर नभएको, भए पनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउनेभन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो।
छोरालाई विदेश पठाउन विमानस्थल आउनुभएका कैलालीका ठक्कर कलेलले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न र जीवनस्तर उकास्न सहयोग गरे पनि देशभित्रको सक्रिय जनशक्ति विदेशिँदा दीर्घकालीन चुनौती उत्पन्न हुन सक्ने बताउनुभयो।
दक्ष र मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उहाँको चिन्ता छ।
दसैँजस्तो पारिवारिक जमघटको समयमा समेत विमानस्थलमा देखिने युवाको भीडले स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ।














प्रतिक्रिया दिनुहोस्