ललितपुर, कात्तिक ६ । ललितपुरको पाटनमा परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक अष्टमातृका नाच (गँः प्याखँ) सम्पन्न भएको छ।
हरेक वर्ष घटस्थापनादेखि ११ दिनसम्म सञ्चालन हुने यो नाच यस वर्ष पनि परम्परागत विधिअनुसार प्रदर्शन गरिएको अष्टमातृका नाच प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिनुभयो।
मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकालमा नेपाल संवत् ७८४ देखि सुरु भएको मानिने यो नाच करिब ३६२ वर्ष पुरानो छ। हरेक वर्ष घटस्थापनाका दिन ललितपुरको नकबहिल परिसरमा विधिवत् पूजा गरी नाच सुरु गर्ने परम्परा छ। यसले नेवार समुदायको धार्मिक विश्वास, सांस्कृतिक मौलिकता र ऐतिहासिक परम्परालाई जीवन्त राख्दै आएको छ।
समितिका अध्यक्ष शाक्यका अनुसार नेवार समुदायका शाक्य र बज्राचार्य वंशका कलाकार सहभागी हुने यो नाच देशमा शान्ति, सुरक्षा र समृद्धि कायम होस् भन्ने कामनासहित प्रदर्शन गरिन्छ। साथै, मानव जीवनका आठ महाभय—जल, अग्नि, सिंह, सर्प, हात्ती, चोर, झ्यालखाना र भूतप्रेतबाट मुक्ति मिल्ने जनविश्वाससमेत रहेको छ।
घटस्थापनाका दिन बाजागाजासहित नागबहाल र पट्को हुँदै मङ्गलबजार पुगेका देवगणलाई तलेजुका पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूलचोकमा प्रवेश गराएपछि नाच औपचारिक रूपमा सुरु गरिएको थियो।
नाचका सुरुवाती चार दिन नकबहिल र पाटन दरबार क्षेत्रको मूलचोकमा प्रदर्शन गरिएको थियो। त्यसपछि पाँच दिन रातिको समयमा कात्तिक डबलीमा नाच देखाइएको थियो। फूलपाती र विजयादशमीका दिन दिउँसो मूलचोकमा नाच प्रदर्शन गरिएको थियो भने अन्तिम दिन एकादशीमा नकबहिल डबलीमा विशेष नृत्य प्रस्तुत गरी यस वर्षको जात्रा समापन गरिएको हो।
शक्तिको उपासनासँग सम्बन्धित यस नाचमा १३ देवगण सहभागी हुन्छन्। उनीहरूलाई देवीदेवताका मुकुण्डो, परम्परागत तान्त्रिक भेषभूषा र विशेष गरगहनाले सजाएर मण्डलाकार रूपमा नचाइन्छ। प्रत्येक देवगणको तान्त्रिक मुद्रा र भावभङ्गी फरक हुने भएकाले नाच हेर्न स्थानीयवासी तथा संस्कृतिप्रेमीको भीड लाग्ने गर्छ।
नाचमा सिंघिणी, भैरव, गणेश, कुमार, ब्रह्मायणी, महेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मी र व्याघ्रिणीका देवगण सहभागी हुन्छन्।
युवा वाद्यवादक शैलेन्द्र शाक्य विगत २६ वर्षदेखि कौमारी र भैरवको भूमिकामा सहभागी हुँदै आउनुभएको छ। आयर्म बज्राचार्यले सिंघिणी र सुप्रिन्स शाक्यले विगत १० वर्षदेखि व्याघ्रिणीको भूमिका निर्वाह गर्दै आउनुभएको छ।
परम्पराअनुसार आहारविहार शुद्ध गरी घटस्थापनाको अघिल्लो रात तन्त्र साधना गरिन्छ। त्यसपछि बिहान न्याखाचुकस्थित नित्यनाथ मन्दिर परिसरमा देवगण परम्परागत पोसाक र गरगहनासहित मुकुण्डो नलगाई क्रमबद्ध रूपमा नागबहाल हुँदै नकबहिल पुग्छन्। त्यही दिन बेलुकादेखि नाच सुरु गर्ने परम्परा रहेको छ।














प्रतिक्रिया दिनुहोस्