जनता टाइम्स

३ कार्तिक २०८३, मंगलबार ०७:१७

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि


जनकपुरधाम, कात्तिक ३ । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि चढाइएको छ। महाअष्टमीको अवसरमा आइतबार रातिदेखि सोमबार बिहानसम्म श्रद्धालु भक्तजनले धार्मिक परम्परा र भाकलअनुसार बोका बलि दिएका हुन्।

महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार बलि प्रदान गर्ने व्यवस्था व्यवस्थित बनाउन मन्दिर परिसरमा चार स्थान तोकिएको थियो। गत वर्ष विजयादशमीमा मन्दिरमा १४ हजार ९०३ वटा बोका बलि चढाइएको थियो।

बलि सुरु हुनुअघि राममन्दिरका पुजारी महन्तराम गिरीले निशा पूजा गर्नुभएको थियो। राजदेवी माताको दर्शन तथा पूजाआजाका लागि भारतबाट समेत श्रद्धालु आउने गरेको अध्यक्ष साहले जानकारी दिनुभयो। भक्तजनलाई सहज रूपमा दर्शन र पूजाआजा गर्ने वातावरण बनाउन आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो।

चाडपर्वका बेला हुने भीडभाड व्यवस्थापन तथा सुरक्षा अवस्थालाई ध्यानमा राखेर धनुषा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काका अनुसार लामो दूरीका सवारीसाधनमा जाँच, नियमित गस्ती तथा बैंक र वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणका लागि जिल्लाभर सुरक्षा व्यवस्था मिलाइएको छ।

यस वर्षको दसैँलाई लक्षित गरी धनुषामा ७० वटा पिकेट, ४६ वटा पैदल गस्ती, सातवटा बजार अनुगमन टोली, सातवटा विशेष अपरेसन टोली, १५ वटा विपद् प्रतिकार्य टोली तथा १३ वटा गाडी र मोबाइल टोली परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो।