काठमाडौं, कात्तिक ३ । बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर नवदुर्गा भगवतीको विशेष पूजा, आराधना र दर्शन गरी मनाइँदै छ। महानवमीका अवसरमा बिहानैदेखि देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।
महानवमीका दिन दसैँघर, कोत तथा विभिन्न देवी मन्दिरमा दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यस अवसरमा दुर्गा सप्तशती (चण्डी), देवीभागवत तथा देवीस्तोत्र पाठ गर्ने परम्परा छ।
काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणी मन्दिरमा दर्शन तथा पूजापाठका लागि भक्तजन पुगिरहेका छन्।
उपत्यकाबाहिर नवलपुरको मौलाकालिका, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी र डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ।
नवरात्रमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यस अवधिमा पूजा गरिएका देवीको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ।
भोलि बुधबार दसैँको मुख्य दिन विजयादशमी मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। त्यसअघि बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गर्ने साइत छ।
यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले कालरात्रि पूजाको समय पनि फरक परेको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार महाअष्टमीको कर्म सम्पन्न गरेपछि लगत्तै महानवमीको पूजा आराधनालगायत कर्म गर्ने परम्परा छ।














प्रतिक्रिया दिनुहोस्