जनता टाइम्स

६ कार्तिक २०८३, शुक्रबार ०७:०७

आज पनि दशैँकाे टीका र आशीर्वाद थाप्ने क्रम जारी


काठमाडौं, कात्तिक ६ । विजया दशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ । दशमीका दिनदेखि लगाउन सुरु गरिएको दशैँको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन रहेकाले आफन्तजनकहाँ पुगेर टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी रहेको हो ।

विजया दशमीका दिन टीका लगाउन नपाएका वा नभ्याएका व्यक्तिहरूले आज मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन् । दसैँका अवसरमा टाढाटाढा रहेका आफन्तजनकहाँ पुगेर टीका लगाउने, आशीर्वाद लिने र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने क्रम पनि चलिरहेको छ ।

विजया दशमीका दिन घरमै टीका लगाउने र त्यसपछि कोजाग्रत पूर्णिमासम्म आफन्त तथा मान्यजनकहाँ पुगेर टीका थाप्ने परम्परा छ । यसले दसैँको उल्लासलाई केही दिनसम्म कायम राख्नुका साथै परिवार र आफन्तबीच भेटघाट तथा आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्छ ।

घटस्थापनाका दिन दसैँघरमा विधिपूर्वक जमरा राखी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरेपछि दशमीका दिनदेखि टीका लगाउन सुरु गरिन्छ । त्यसपछि कोजाग्रत पूर्णिमासम्म आफूभन्दा अग्रज तथा मान्यजनको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिने धार्मिक तथा सांस्कृतिक परम्परा छ ।

मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ । दसैँको टीका केवल धार्मिक आस्थासँग मात्र नभई पारिवारिक एकता, आपसी सद्भाव र पुस्ताबीचको आत्मीय सम्बन्धसँग पनि जोडिएको छ ।