जनता टाइम्स

६ कार्तिक २०८३, शुक्रबार ०७:३८

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते


काठमाडौं, कात्तिक ६। सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

 भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा भोक्राहा नरसिंह गाउँपालिका–३ का २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

सोही मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय विशाल यादव गम्भीर घाइते भएका छन्। उनलाई इनरुवा जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ।

त्यस्तै, अर्को मोटरसाइकलका चालक भोक्राहा नरसिंह गाउँपालिका–४ का १९ वर्षीय सिद्धार्थ उराव र कोशी गाउँपालिका–१ का १९ वर्षीय रोहित उराव मध्यम घाइते भएका छन्। दुवै जनालाई इनरुवा जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको प्रहरीले जनाएको छ।