जनता टाइम्स

५ कार्तिक २०८३, बिहिबार १२:११

सुर्खेतमा लोकसेवाको तयारी गरिरहेका विद्यार्थी मृत भेटिए


सुर्खेत, कात्तिक ५ । सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको कोठामा मृत भेटिएका छन्।

मृत भेटिनेमा अछामको रामारोशन गाउँपालिका–५ घर भई वीरेन्द्रनगर नगरपालिका–८, रंगशाला क्षेत्रमा बस्दै आएका २६ वर्षीय राजेन्द्र रोकाय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार रोकाय आफू बस्दै आएको भाडाको कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए।

रोकाय विगत एक वर्षदेखि उक्त घरमा कोठा भाडामा लिएर लोकसेवा आयोगको तयारी गर्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।