काठमाडौं, कात्तिक ५ । विश्वभर व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट प्रभावित भएका छन्। नेपालका केही सरकारी वेबसाइटसमेत खुल्न नसकेको जनाइएको छ।
सुरक्षा कमजोरी सार्वजनिक भएसँगै ह्याकरले त्यसको दुरुपयोग गर्न सक्ने जोखिम बढेको छ। त्यसैले वेबसाइट सञ्चालकहरू प्रणाली सुरक्षित बनाउन सक्रिय भएका छन्। नेपालमा सरकारी बिदा परेकाले यस विषयमा आधिकारिक अपडेट नआएको समाचारमा उल्लेख छ।
रोयटर्सका अनुसार PHP का विकासकर्ताहरूले बुधबार सुरक्षा कमजोरी समाधान गर्न आपत्कालीन अपडेट जारी गर्दै प्रयोगकर्तालाई तत्काल प्रणाली अद्यावधिक गर्न आग्रह गरेका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताले वर्षौँदेखि सफ्टवेयरमा लुकेका कमजोरी पत्ता लागेको जनाइएको छ।
प्रविधि कम्पनीहरूले केही ह्याकरले यी कमजोरीको दुरुपयोग गर्न थालिसकेको चेतावनी दिएका छन्। सुरक्षा विज्ञहरूका अनुसार कमजोरी समाधान गर्ने अपडेट सार्वजनिक भइसकेको र एआई उपकरणबाट त्यसको प्राविधिक पक्ष विश्लेषण गर्न सजिलो भएकाले असुरक्षित सर्भरमाथि आक्रमण बढ्न सक्छ।
साइबर सुरक्षा अनुसन्धान संस्था टीएलपीःब्ल्याकका सहसंस्थापक कोस्टिन राइउले यस अवस्थालाई सुरक्षा कमजोरीको दुरुपयोग गर्न ह्याकरहरूबीच भइरहेको प्रतिस्पर्धाका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार इन्टरनेटमा रहेका कमजोर सर्भरहरू सामूहिक रूपमा नियन्त्रणमा लिने जोखिम छ।
सन् १९९० को दशकको सुरुआतमा विकसित PHP भाषा वर्डप्रेस, ड्रुपल, जुम्ला र म्याजेन्टाजस्ता लोकप्रिय वेबसाइट प्रणालीमा प्रयोग हुन्छ। त्यसैले यसको सुरक्षा कमजोरीले इन्टरनेटका ठूलो हिस्सालाई असर गर्न सक्ने विज्ञहरूको चेतावनी छ।
ड्रुपल एसोसिएसनकी अन्तरिम प्रमुख कार्यकारी टिफनी फारिसका अनुसार पछिल्ला २० वर्षमा जारी भएका PHP संस्करण प्रयोग गर्ने सर्भरहरू जोखिममा पर्न सक्छन्।
इन्टरनेट इन्टेलिजेन्स कम्पनी सेन्सिसको तथ्यांकअनुसार PHP प्रयोग गरिरहेका २६ लाख होस्टमध्ये करिब १५ लाखमा अझै सुरक्षा समाधान उपलब्ध नभएको संस्करण सञ्चालनमा छ।
विश्वभरका साइबर सुरक्षा निकायले प्रयोगकर्तालाई तत्काल नयाँ अपडेट जडान गर्न आग्रह गरेका छन्। तत्काल अपडेट गर्न नसक्ने वेबसाइट सञ्चालकलाई सम्भावित साइबर आक्रमणबाट जोगिन वेबसाइट अस्थायी रूपमा अफलाइन राख्न सुझाव दिइएको छ।














प्रतिक्रिया दिनुहोस्