जनता टाइम्स

६ कार्तिक २०८३, शुक्रबार ०७:१२

मंगलबारदेखि केही स्थानमा वर्षाको सम्भावना, नआत्तिन मौसमविद्को आग्रह


काठमाडौं, कात्तिक ६ । आउँदो मंगलबारदेखि देशका केही भागमा वर्षा हुन सक्ने सम्भावना रहेको छ। तर, अहिले नै त्रसित हुनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा वर्षाबारे त्रसित हुने गरी हल्ला फैलिएको उल्लेख गर्दै केही स्थानमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ।

महाशाखाका अनुसार कात्तिक १० गते मंगलबारदेखि वर्षा हुन सक्ने भए पनि कुन क्षेत्रमा कति र कति समयसम्म पानी पर्छ भन्ने विषयमा अहिले नै यकिन भइसकेको छैन। यसबारे छिट्टै आधिकारिक सूचना र विश्लेषण सार्वजनिक गरिने महाशाखाले जनाएको छ।

सम्भावित वर्षाबाट प्रभावित हुन सक्ने क्षेत्रका किसानलाई मुख्य बाली धान भित्र्याउने काममा पूर्वतयारी र सावधानी अपनाउन सूचित गरिने भएको छ।

यसैबीच, आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।