कञ्चनपुर, कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमण तीर्थयात्रा भएको बताउँदै यसलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ ।
पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्कनु भएका उहाँले भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि भएको स्पष्ट पार्नुभयो । शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुग्नुभएको थिए । गड्डाचौकीबाट उहाँ भारततर्फ प्रस्थान गर्नु भएको छ । ‘यो मेरो विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण हो, म कारागारमा हुँदा नै एउटा भाकल गरिएको थियो, त्यसैलाई पूरा गर्न परिवारसहित जान लागेको हुँ´, लामिछानेले भन्नुभयो ।
भारत प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफ्नो भ्रमणमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताउनुभयो । व्यक्तिगत विषयलाई राजनीतिक घटनाक्रमसँग जोडेर अनावश्यक बहस नगर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘कुनै राजनीतिक भेटघाट छैन, कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ, त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।’
लामिछानेले व्यक्तिगत जीवन र राजनीतिक भूमिकालाई फरक रूपमा बुझिदिन आग्रह गर्दै आफ्नो भ्रमणलाई राजनीतिक अर्थ नलगाउन आग्रह गर्नु भएको छ ।
तीनदिने भारत भ्रमणमा पत्नी निकितासहित निस्कनु भएका लामिछानेको भ्रमणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहँदा उहाँले भ्रमणको उद्देश्य व्यक्तिगत रहेको बताउनुभएकाे छ।














प्रतिक्रिया दिनुहोस्