जनता टाइम्स

६ कार्तिक २०८३, शुक्रबार ०९:१७

साउदीमा नेपालीको मृत्युप्रति एमालेको दुःख, गरायो सरकारको ध्यानाकर्षण


काठमाडौं, कात्तिक ६। साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषले लागेर एक नेपाली नागरिकको मृत्यु भएपछि नेकपा एमालेले दुःख व्यक्त गरेको छ। एमालेले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको वक्तव्यमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै एमालेले यस्ता अमानवीय घटनाको निन्दा र भर्त्सना गरेको छ। आफूहरू सदैव विश्व शान्तिको पक्षमा रहेको पनि पार्टीले जनाएको छ।

नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा र हित सुनिश्चित गर्न नेपाल सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै एमालेले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। ‘​नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक छ, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्नका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ‘, वक्तव्यमा भनिएको छ ।