जनता टाइम्स

६ कार्तिक २०८३, शुक्रबार १९:५८

भिरबाट लडेर बझाङकाे बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु


काठमाडौं, कात्तिक ६ । बझाङमा भिरबाट लडेर बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ ।

गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न जाने क्रममा भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते हुनुभएको थियो ।भिरबाट लडेर चट्टानमा बजारिएपछि उहाँको कानबाट रगत बगेको मृतकका आफन्तले जानकारी दिनुभएकाे छ । 

गम्भीर घाइते जोशीको उद्धारका लागि हेलिकोप्टर बोलाउने तयारी भइरहेको थियो । तर, हेलिकोप्टर उड्न नपाउँदै उहाँको मृत्यु भएको थियाे । 

जोशीको अवस्था अत्यन्तै गम्भीर रहेकाले तत्काल हेलिकोप्टरबाट उद्धार गर्न खाेजिएकाे थियाे। जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टर उडाउने तयारी गरिएको भए पनि काठमाडौंबाट हेलिकप्टर उड्न नपाउँदै उहाँकाे ज्यान गएकाे थियाे । 

 जोशी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।