नयाँदिल्ली, कात्तिक ६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको बताउनु भएको छ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित ’एनडिटिभी वल्र्ड समिट २०२६’ मा बोल्दै यस्तो धारणा राख्नुभएको हो ।
उहाँले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेको पनि बताउनु भयो । एनडिटिभीका अनुसार शुक्रबार नेपाल–भारत सम्बन्धबारे आयोजित विशेष सत्रमा वाग्लेले दुई देशको सम्बन्धमा बेलाबेला समस्या देखिए पनि भौगोलिक र सामाजिक निकटताले गहिरोसँग जोडेको उल्लेख गर्नुभयो । यस्तै प्रधानमन्त्री शाहले चाँडै भारत भ्रमण गर्ने जानकारी पनि दिनुभयो ।
अर्थमन्त्री वाग्ले सहभागी सम्मेलन भारतीय सञ्चारमाध्यम एनडिटिभीले बिहीबार र शुक्रबार आयोजना गरेको हो । वाग्लेले शुक्रबार ‘Proximity to ProsperityM The India–Nepal Opportunity’ शीर्षकको सत्रमा बोल्नुभएको हो । सो सत्र नेपाल–भारतको निकटतालाई आर्थिक समृद्धिको अवसरमा कसरी बदल्ने भन्ने विषयमा केन्द्रित थियो । सम्मेलनमा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपालजस्ता मुलुकले ऋण लिनुपर्ने अवस्थामाथि प्रश्न उठाउनु भयो ।
एनडिटिभीले सार्वजनिक गरेको अर्थमन्त्री वाग्लेको कार्यक्रमको अंश अनुसार, जलवायु संकट सिर्जना गर्न नेपालको योगदान अत्यन्त कम भए पनि त्यसले ध्वस्त बनाएका पूर्वाधार पुनर्निर्माणको आर्थिक भार नेपालमाथि परिरहेको बताउनु भएको छ ।
बाढीले क्षति पुर्याएका पुल, सडक, स्वच्छ ऊर्जा उत्पादन गर्ने जलविद्युत आयोजना र घर पुनर्निर्माण गर्न नेपालले किन ऋण लिनुपर्ने भन्ने उहाँको प्रश्न थियो। यो विषय अन्तर्राष्ट्रिय छलफलमा ल्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

अर्थमन्त्री वाग्लेले नेपालमा भएका ठूला विपदपछि भारतले गरेको तत्काल सहयोगको भने प्रशंसा गर्नुभयो । यस्तै २०७२ सालको भूकम्पपछि केही घन्टामै भारतीय सहायता काठमाडौं आइपुगेको स्मरण गर्दै उहाँले पछिल्लो बाढीपछि पनि भारतबाट तत्काल सहयोग प्राप्त भएको बताउनु भयो । उहाँले बाढीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई फोन गरेर सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।
वाग्लेले सम्मेलनमा नेपालको जेनजी आन्दोलन र युवा पुस्ताको राजनीतिक अपेक्षाबारे पनि आफ्नो धारणा राख्नुभयो । स्मार्टफोन र सामाजिक सञ्जालसँग हुर्किएको पुस्ता यथास्थिति स्वीकार्न तयार नभएको भन्दै उहाँले डिजिटल प्रविधिले राजनीतिक सहभागिता, सार्वजनिक अपेक्षा र सामाजिक आन्दोलनको स्वरूप बदलिरहेको धारणा राख्नुभयो ।
युवा आन्दोलनको प्रभाव दीर्घकालीन बनाउन सडकको आक्रोशलाई लोकतान्त्रिक संस्थासँग जोड्नुपर्नेमा पनि वाग्लले जोड दिनुभएको छ । नेपालको अनुभवलाई राजनीतिक परिवर्तनको उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले आन्दोलनबाट उठेका मागलाई संस्थागत प्रक्रियामा लैजानुपर्ने बताउनु भयो ।

यसअघि बिहीबार वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकर मुख्य वक्ता रहेको सत्रमा बदलिँदो अन्तर्राष्ट्रिय सहकार्यबारे प्रश्न राख्नुभएको थियो ।
उहाँले परम्परागत बहुपक्षीय संस्थाको सट्टा समान स्वार्थ भएका देशका साना र लचिला समूहहरूमार्फत सहकार्य गर्ने प्रवृत्ति बढेको हो ? भन्ने प्रश्न गर्नुभएको हो । सो प्रश्नको जवाफमा विदेशमन्त्री जयशंकरले पनि रोचक जवाफ दिनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्