जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार १४:५६

हिल्सामा मैत्रीपुल निर्माण सम्पन्न, सञ्चालनमा आउन अझै ८–९ महिना लाग्ने


हुम्ला, कात्तिक ७ । नेपाल–चीन सीमा क्षेत्र हिल्सामा चीनले निर्माण गरेको मैत्रीपुलको उद्घाटन यस वर्ष पनि नहुने भएको छ । निर्माण सम्पन्न भए पनि उद्घाटनका लागि नेपाली पक्षले समय मिलाउन नसक्दा पुल सञ्चालनमा आउन नसकेको हो ।

यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार चिनियाँ पक्ष पुल उद्घाटन गर्न तयार भए पनि भोटेकोशीमा आएको बाढीलगायतका समस्याका कारण नेपाली पक्षले समय मिलाउन सकेन । चिनियाँ पक्षले पुल उद्घाटनको व्यवस्था मिलाउन नेपालसँग आग्रह गरेको थियो ।

उद्घाटन हुन नसकेपछि चीनले आफ्नो क्षेत्रमा बार लगाएर पुलमा आवतजावत बन्द गरेको छ । हिमपात सुरु भइसकेकाले अब पुल उद्घाटन गर्न सम्भव नदेखिएको जैसीले बताउनुभयो । यसले पुल सञ्चालनमा आउन कम्तीमा आठदेखि नौ महिना ढिलाइ हुने उहाँको भनाइ छ ।

सम्बन्धित निकायले चाँडोभन्दा चाँडो पुल उद्घाटनको तयारी गर्न आफूलाई मौखिक आग्रह गरेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय हुम्लालाई लिखित जानकारी गराएको जैसीले बताउनुभयो ।

हिल्सा नाकाबाट यसअघि आयातको मात्र अनुमति रहेकोमा चीनले अहिले २९ किसिमका जडीबुटी निकासी गर्न पनि अनुमति दिएको छ । पुल सञ्चालनमा आएपछि मालवाहक कन्टेनर सिधै नेपाली सीमासम्म आउन सक्नेछन् ।

हाल पुल सञ्चालनमा नआएकाले नेपालले निर्माण गरेको बेलिब्रिजबाट सवारीसाधन आवतजावत गरिरहेका छन् । स्थानीय बासिन्दा तथा पर्यटक भने झोलुङ्गे पुलबाट आवतजावत गरिरहेका छन् ।

गत वर्ष मंसिरमा मैत्रीपुलको निर्माण सम्पन्न भएको थियो । पुल निर्माण गर्न चीनलाई छ महिना लागेको थियो । पुलसँगै चीनले नेपालतर्फको साढे तीन सय मिटर सडकसमेत निर्माण गरेको छ ।

पुल सञ्चालनमा ल्याउने विषयमा नेपाल र चीनका स्थानीय प्रतिनिधिबीच गत वैशाख १० गते छलफल भए पनि उद्घाटनबारे निर्णय हुन सकेको थिएन । निर्माण सम्पन्न भएको पुल सञ्चालनमा ल्याउन चीनले जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्राचारसमेत गरेको थियो ।