मनाङ, कात्तिक ७ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोहीको शव शुक्रबार फेला परेको छ ।
ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव भेटिएको हो ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
करिब ७ हजार ५० मिटर उचाइबाट सम्पर्क विच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो । खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परेका थिए ।
लगातारको खोजीपछि शुक्रबार दुवैको शव फेला परेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयो ।
शव काठमाडौं पठाउने तयारी भइरहेको र परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइने उहाँले बताउनुभयो ।
राससका अनुसार गङ्गापूर्ण हिमाल आरोहण अभियानमा गएका दुवै जापानी पर्वतारोही गत अक्टोबर १५ देखि सम्पर्कविहीन भएका थिए ।














प्रतिक्रिया दिनुहोस्