काठमाडौं, कात्तिक ७ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणा गरेको ‘क्यान्डिडेट क्लब’को आलोचना गर्दै यसलाई अनैतिक राजनीतिको सुरुवात भएको टिप्पणी गर्नुभएको छ ।
शनिबार वीरगञ्जमा बसेको आजपाको मधेस प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै साहले स्थानीय तहलाई निर्दलीय बनाउने भन्दै मत मागेको रास्वपाले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ गठन गर्नु विरोधाभासपूर्ण भएको बताउनुभयो । चुनावका बेला एउटा कुरा गर्ने र व्यवहारमा अर्कै अभ्यास गर्न खोजेको उहाँको भनाइ थियो ।
साहले रास्वपाका नेता तथा कार्यकर्तामा देश र जनताको भन्दा पद र कुर्सीप्रतिको चिन्ता बढी देखिएको आरोपसमेत लगाउनुभयो ।
‘घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ । चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो । देश र जनताका बारेमा यिनीहरूलाई कुनै चिन्ता छैन । यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
साहले रास्वपाका कार्यकर्ताहरू सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत हुने गरेको आरोप पनि लगाउनुभयो । सामाजिक सम्बन्धको महत्त्व नबुझ्दा उनीहरूले सामाजिक सञ्जालमा गालीगलौज गर्ने गरेको उहाँको भनाइ थियो ।














प्रतिक्रिया दिनुहोस्