जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार १४:५९

अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत पुगेपछि नेपाल राष्ट्रविरुद्ध छाद्छन्: पूर्वमन्त्री बास्कोटा


काठमाडौं, कात्तिक ७ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

वाग्लेले भारत भ्रमणका क्रममा एक कार्यक्रममा सहभागी हुँदै विगतमा नेपालमा भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भन्ने भाष्य निर्माण गरिएको र नयाँ पुस्तामा त्यस्तो विचार नरहेको बताउनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर बास्कोटाले आलोचना गर्नुभएको हो ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले अर्थमन्त्री वाग्ले भारत पुग्दा नेपाल राष्ट्रविरुद्ध बोल्ने गरेको आरोप लगाउनुभएको छ ।

‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्,’ उहाँले लेख्नुभएको छ ।

वाग्लेले भारतमा दिएको अभिव्यक्ति राष्ट्रियता र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक तथा ऐतिहासिक बुझाइको कमजोरी भएको बास्कोटाको टिप्पणी छ ।

‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो– त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रियहीतसम्बन्धि राजनीतिक, कूटनीतिक, ऐतिहासिक रुपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाइ हो,’ उहाँले लेख्नुभएको छ ।