जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार ०७:२६

युरोपमा यस वर्ष अत्यधिक गर्मीका कारण ५० हजारभन्दा बढीको मृत्यु


काठमाडौं, कात्तिक ७ । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक गर्मीका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ। तीमध्ये झन्डै दुईतिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको अध्ययनको निष्कर्ष छ।

समाचार संस्था एपीका अनुसार अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनमा जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित घटनाबाट ३२ हजार ६१९ जनाको मृत्यु भएको पाइएको छ।

अध्ययनमा युरोपको झन्डै ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले गर्मीका कारण ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतः असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्‍याएको छ।

युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ। यस वर्षको गर्मीयाममा केही सहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको अध्ययनमा उल्लेख छ।

गर्मीका कारण सबैभन्दा धेरै मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको खबरमा जनाइएको छ। मृत्यु हुनेमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा माथिका व्यक्ति थिए। यद्यपि, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताएका छन्।

अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमा जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुवातमा ४५ प्रतिशत रहेकामा अहिले बढेर ६५ प्रतिशत पुगेको छ।