जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार ०७:१२

कात्तिक ११ देखि १५ गतेसम्म वर्षा हुन सक्ने, सतर्कता अपनाउन आग्रह


काठमाडौं, कात्तिक ७ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भई त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै आउँदो साता नेपालको मौसम प्रभावित हुन सक्ने जनाएको हो। महाशाखाका अनुसार न्यूनचापीय प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवातमा विकसित हुने र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्ने सम्भावना छ।

उक्त मौसम प्रणालीको प्रभावले कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालमा मौसम बदलीसँगै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र त्यसले कस्तो असर पार्न सक्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ। सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले मौसमसम्बन्धी मोडल, भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्क विश्लेषण गरी प्रणालीको विकासक्रम निगरानी गरिरहेको जनाएको छ। प्रणालीको अवस्था र सम्भावित प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने महाशाखाले जनाएको छ।