जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार ०७:३२

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं, कात्तिक ७ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना छ ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

भोलि पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।