जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार ०८:१७

पोखरा–दुबई नियमित उडानको एक महिना, ६ हजारभन्दा बढी यात्रुले लिए सेवा


कास्की, कात्तिक ७ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित उडान सुरु भएको एक महिनामा ६ हजार ३६२ यात्रुले सेवा लिएका छन् ।

विमानस्थलका अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्म फ्लाईदुबईको उडानमार्फत दुबईबाट पोखरा ४ हजार ५२१ र पोखराबाट दुबई १ हजार ८४१ यात्रुले यात्रा गरेका छन् ।

एक महिनाको तथ्यांकअनुसार दुबईबाट पोखरा आउने यात्रुको प्रतिउडान औसत संख्या करिब १५१ छ भने पोखराबाट दुबई जाने यात्रुको औसत संख्या करिब ६१ छ । दुवैतर्फ गरी प्रतिउडान औसत १०६ यात्रुले यात्रा गरेका छन् ।

पोखरा–दुबई हवाई सम्पर्कलाई निरन्तरता दिने प्रतिबद्धतासहित फ्लाईदुबईले सन् २०२७ अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यात्रुको यो संख्याले पोखराबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरताप्रति आशा जगाएको बताउनुभयो । नियमित उडानले पोखराको पर्यटन, आर्थिक गतिविधि र अन्तर्राष्ट्रिय आवागमनलाई थप सहज बनाउने उहाँको अपेक्षा छ ।