काठमाडौं, कात्तिक ९ । देशका केही स्थानमा मंगलबार र बुधबार हल्का वर्षा हुने तथा बिहीबारदेखि आइतबारसम्म ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुन सक्ने भएकाले बिहीबारदेखि मौसम प्रभावित हुने अनुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा वर्षाको प्रभाव बढी पर्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिममा भने तुलनात्मक रूपमा कम असर पर्ने अनुमान छ।
मौसमसम्बन्धी जानकार उज्ज्वल उपाध्यायका अनुसार बिहीबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा औसतमा १०० मिलिमिटर र केही ठाउँमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्छ।
गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, कास्की, लमजुङ, गोरखा, म्याग्दी र बागलुङलगायत क्षेत्रमा भारी वर्षा तथा हिमपातको जोखिम छ। जमिनमा यसअघि नै चिस्यान रहेकाले बाढी, पहिरो र हिमपहिरोको जोखिम बढ्न सक्ने विज्ञहरूले बताएका छन्।
धान काट्ने र पर्वतारोहणको समय भएकाले किसान तथा पर्यटकलाई सतर्क रहन आग्रह गरिएको छ। किसानलाई धान भिजेर नष्ट हुनबाट जोगाउन समयमै काटेर सुरक्षित स्थानमा राख्न सुझाव दिइएको छ। कात्तिक १२ देखि १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने योजना बनाएकालाई यात्रा स्थगित गर्न वा सुरक्षित स्थानमा रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्