जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार ०८:०२

पब्जी मोबाइल ग्लोबल ओपनमा होरा चौथो, वुल्भ्सलाई उपाधि


काठमाडौं, कात्तिक ९ । पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ। नेपालको होरा ईस्पोर्ट्स भने चौथो स्थानमा रह्यो।

फाइनलको पहिलो दिन शनिबार ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेर शीर्षस्थानमा रहेको होराले आइतबार उपाधि जित्न सकेन। टोलीले म्याच पोइन्टका लागि आवश्यक ६७ अंक पार गरे पनि त्यसपछि चिकेन डिनर जित्न नसक्दा उपाधिबाट वञ्चित भयो।

प्रतियोगिताको उपाधि विजेताको टुंगो १२औँ खेलमा लागेको थियो। उक्त खेलमा चिकेन डिनर जित्दै वुल्भ्स च्याम्पियन बन्यो। वुल्भ्सले ११औँ खेलमा म्याच पोइन्ट पार गरेको थियो।

यसबीच पुछारमा रहेको आईएनएफले लगातार दुई चिकेन डिनर जित्दै उपाधि दाबेदारी प्रस्तुत गरेको थियो। तर, १२औँ खेलमा चिकेन डिनर जित्न नसक्दा टोली उपाधिबाट टाढियो। होरा पनि ११औँ खेलमा चिकेन डिनर नजिक पुगेका बेला आईएनएफबाटै बाहिरिएको थियो। नेपालको अर्को टोली टीटूके भने सर्भाइभल स्टेजबाटै बाहिरिएको थियो।