जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार २०:०७

वर्षाले एनपीएलका खेल प्रभावित हुनसक्ने


काठमाडौं, कात्तिक ७ । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा वर्षा हुनसक्ने र त्यसले नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगितालाई प्रभावित पार्नसक्ने देखिएको छ ।

मौसम विज्ञान विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने अनुमान छ । तर बुधबारदेखि बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्नसक्ने विभागले जनाएको छ ।

यद्यपि, वर्षाको मात्रा र त्यसको प्रभाव कति रहने भन्नेबारे अहिले नै यकिन गर्न नसकिने विभागले स्पष्ट पारेको छ ।

विभागले आधिकारिक मौसमसम्बन्धी जानकारीका लागि वेबसाइट तथा सामाजिक सञ्जाल नियमित हेर्न र आवश्यक जानकारी लिन ११५५ नम्बरमा फोन गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।