जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार १९:५७

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै, दुई दिनमा झन्डै आठ हजार पर्यटक


काठमाडौं, कात्तिक ७ । दसैँपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकको आगमन बढ्न थालेको छ । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा सुस्ताएको पर्यटन क्षेत्रमा दसैँ बिदापछि चहलपहल बढेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँको टीकापछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । बिहीबार तीन हजार ३३ जना र शुक्रबार चार हजार ८१३ जना पर्यटक मुस्ताङ पुगेका हुन् ।

यस वर्ष घटस्थापनादेखि विजयादशमीसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । तीमध्ये तीन हजार ७३८ जना पुरुष र एक हजार ९२५ जना महिला थिए । प्रहरीका अनुसार उक्त अवधिमा चार हजार ४०९ जना विदेशी पर्यटक आएका थिए, जुन कुल पर्यटकको ७७ दशमलव ८५ प्रतिशत हो ।

प्राकृतिक विपद्का कारण बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि मुस्ताङको पर्यटन व्यवसाय प्रभावित भएको थियो । तर दसैँपछि पर्यटकको आगमन क्रमशः बढिरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको साउनमा ३० हजार ५३४ जना, भदौमा २० हजार २६८ जना र असोजमा १८ हजार ६०१ जना पर्यटक मुस्ताङ पुगेका थिए ।

दसैँ–तिहारको बिदामा पर्यटन व्यवसाय थप चलायमान हुने अपेक्षा गरिएको छ । बिदाको अवसरमा विदेशबाट स्वदेश फर्किएका नेपाली, निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र देशका विभिन्न भागका पर्यटक मुस्ताङ भ्रमणमा आउने गर्छन् । यसपटक पनि दसैँ, तिहार र छठ पर्वसम्म स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्नेमा पर्यटन व्यवसायी आशावादी छन् ।

धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित मुस्ताङमा मुक्तिनाथ मन्दिर, कोरला नाका, झोङ गुफा, लोमान्थाङ दरबार, घर गुम्बा, चोङ्सी गुफा, ढुम्बाताल र टिटी ताललगायतका स्थल छन् । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता, हिमाली दृश्य र प्राकृतिक सौन्दर्यले मुस्ताङमा पर्यटक आकर्षित हुँदै आएका छन् ।

बाढीपहिरो र सडक अवरोधका कारण प्रभावित बनेको मुस्ताङको पर्यटन क्षेत्र दसैँ–तिहारको समयमा पुनः चलायमान हुने अपेक्षा गरिएको छ ।