महँगी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध आवाज उठाउनेदेखि पार्टी रूपान्तरणसम्मका एजेन्डा
काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महँगी, बेरोजगारी, भ्रष्टाचार र जनजीविकाका समस्या उठाउँदै पार्टीलाई जनतासँग थप जोड्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान घोषणा गर्नुभएको छ ।
कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोलसम्म पुगेर जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्ने उहाँले बताउनुभएको छ ।
अभियानको घोषणा गर्दै जारी गर्नुभएको अपिलमा संयोजक प्रचण्डले दुईतिहाइको सरकारबाट जनताले अपेक्षाअनुसार परिणाम प्राप्त गर्न नसकेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार सरकारप्रति जनताको निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ । “ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ,” उहाँले अपिलमा उल्लेख गर्नुभएको छ ।
महँगीका कारण जनजीवन कष्टकर बनेको, बेरोजगारी र युवा पलायन बढिरहेको तथा किसान, मजदुर, उद्यमी र व्यवसायीले विभिन्न कठिनाइ भोगिरहेको उहाँको भनाइ छ । जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
जनताका समस्या समाधानका लागि गाउँ–टोल पुग्ने
संयोजक प्रचण्डले राष्ट्रिय जागरण अभियानलाई संगठन विस्तार र सुदृढीकरणमा मात्र सीमित नराखी जनताका वास्तविक समस्या पहिचान गर्ने तथा समाधानका लागि पहल गर्ने कार्यक्रमका रूपमा अघि बढाइने बताउनुभएको छ ।
अभियानका क्रममा किसान, श्रमिक, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, शिक्षक, कर्मचारी, बुद्धिजीवी तथा निजी क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरिने उहाँले जानकारी दिनुभएको छ ।
महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य तथा अनुभव सङ्कलन गरिने अपिलमा उल्लेख छ । “हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो,” उहाँले भन्नुभएको छ ।
उहाँका अनुसार जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने, स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष समस्या पुर्याउने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाइनेछ ।
पार्टी जनताबाट टाढिएको स्वीकारोक्ति
संयोजक प्रचण्डले कम्युनिष्ट पार्टीको आधार मानिने किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको स्वीकार गर्नुभएको छ । पार्टीभित्र जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको उहाँको भनाइ छ ।
“जनताको जीवन र अपेक्षासँग नजोडिएको राजनीति दिगो हुन सक्दैन भन्ने कुरा आत्मसात् गर्नु जरुरी छ,” उहाँले अपिलमा उल्लेख गर्नुभएको छ ।
विगतका कामको समीक्षा गर्दै पार्टीका गल्ती र कमजोरीप्रति आत्मालोचित हुनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभएको छ । जनताको विश्वास र भरोसा बलियो बनाउन पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो व्यवहार र कार्यशैली सुधार्नुपर्ने उहाँको जोड छ । “जनताको विश्वास भाषणबाट होइन, व्यवहार र कामबाट आर्जन गर्नुपर्छ भन्ने मान्यतामा हामी दृढ छौँ,” उहाँले भन्नुभएको छ ।
अभियानसँगै पार्टी सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्ने योजना पनि अघि सारिएको उहाँले बताउनुभएको छ ।
संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै फरक मतप्रति असहिष्णु व्यवहार, अभिव्यक्ति स्वतन्त्रतामाथिको रोकावट र लोकतान्त्रिक संस्था तथा नागरिक अधिकारमाथि हस्तक्षेप हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
नयाँ र पुरानाको कृत्रिम विभाजनबाट सामाजिक घृणा बढाउने तथा नागरिकका राजनीतिक अधिकार सङ्कुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको उहाँको भनाइ छ ।
“यसले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता तथा उपरोक्त ऐतिहासिक उपलब्धिहरूलाई संस्थागत गर्न बनेको संविधानमाथि समेत खतरा उत्पन्न भएको छ,” उहाँले अपिलमा उल्लेख गर्नुभएको छ ।
उहाँले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा तथा राष्ट्रिय हितअनुसार स्वतन्त्र निर्णय गर्ने क्षमताको विकासमा जोड दिनुभएको छ ।

भोटेकोशी बाढीको उद्धारमा लापरबाही भएको भन्दै आपत्ति
संयोजक प्रचण्डले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनाको विषयलाई पनि अभियानको प्राथमिकतासँग जोड्नुभएको छ ।
विशेषगरी रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता नागरिकको खोज र उद्धारमा देखिएको लापरबाहीप्रति उहाँले गम्भीर आपत्ति जनाउनुभएको छ । “विपद्को समयमा नागरिकको जीवनरक्षा गर्नु राज्यको पहिलो र प्रमुख दायित्व हो,” उहाँले भन्नुभएको छ ।
बेपत्ता नागरिकको खोज तथा उद्धारमा ढिलाइ नगर्न, उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गर्न तथा आवश्यकताअनुसार मित्रराष्ट्रबाट प्राप्त हुन सक्ने प्राविधिक सहयोग समयमै स्वीकार गर्न उहाँले सरकारलाई आग्रह गर्नुभएको छ ।
विपद् प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, विस्थापितलाई सुरक्षित पुनःस्थापना गर्न र क्षतिग्रस्त सडक, खानेपानी, पुल, सञ्चार तथा विद्युत् संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
समाजवादलाई उत्पादन र रोजगारीसँग जोड्ने
नेपाली कम्युनिष्ट पार्टीले जनताका आधारभूत समस्याको दीर्घकालीन समाधान समाजवाद निर्माणको दिशामा अघि बढेर मात्र सम्भव हुने विश्वास व्यक्त गरेको छ ।
संयोजक प्रचण्डले समाजवादलाई नारामा सीमित नराखी आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्यका रूपमा व्याख्या गर्नुभएको छ ।
“समाजवाद हाम्रो लागि केवल नारा होइन, आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्य हो,” उहाँले भन्नुभएको छ ।
उहाँले कृषि तथा उद्योगको आधुनिकीकरण, राष्ट्रिय पुँजीको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिनुभएको छ । पार्टीका नेता तथा कार्यकर्ताले स्थानीय विशेषताअनुसार श्रम र उत्पादनमार्फत जनतासँग जोडिने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
अभियानमार्फत राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका समस्या समाधान, पार्टीको रूपान्तरण तथा समाजवाद निर्माणको आधार तयार पार्ने लक्ष्य राखिएको उहाँले बताउनुभएको छ ।
अन्त्यमा संयोजक प्रचण्डले आम नेपाली जनसमुदाय, विभिन्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय तथा निजी क्षेत्रलाई राष्ट्रिय हित र जनजीविकाका साझा सवालमा संवाद र सहकार्य गर्न आह्वान गर्नुभएको छ ।
उहाँले महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा विपद् प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन पनि आग्रह गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्