काठमाडौं, कात्तिक ७ । आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिनअनुसार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुनसक्नेछ ।
महाशाखाका अनुसार शनिबार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
आइतबार देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।
सोमबार पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । मंगलबार र बुधबार देशभर आंशिक बदली हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार तराई, उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्छ । यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले आगामी तीन दिन तथा कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन । यद्यपि, पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
स्रोत : रातोपाटी














प्रतिक्रिया दिनुहोस्