काठमाडौं, कात्तिक ९ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा कमजोर प्रदर्शन गरेको लुम्बिनी लायन्सले दोस्रो सिजन उपाधि जित्यो। अब टोली तेस्रो सिजनमा च्याम्पियनको ताज जोगाउने लक्ष्यसहित मैदानमा उत्रिँदै छ।
लुम्बिनीले यसपटक पनि भारतीय प्रशिक्षक टिनु योहानानलाई जिम्मेवारी दिएको छ। टोलीमा बंगलादेशका शमीन हुसेन र अमेरिकाका श्याड्ली भान शाल्क्विक नयाँ विदेशी खेलाडीका रूपमा भित्रिएका छन्। नामिबियाका रुबेल ट्रम्पलम्यान, अस्ट्रेलियाका डार्सी सर्ट र श्रीलंकाका निरोसन डिकवेलले निरन्तरता पाएका छन्।
कप्तान रोहितकुमार पौडेल टोलीका मुख्य खेलाडी हुन्। उनले एनपीएलका दुई सिजनमा ५५५ रन बनाउनुका साथै १८ विकेट लिएका छन्। आसिफ शेखको आगमनले टोलीको ब्याटिङ थप बलियो बनेको छ। सर्ट र डिकवेल पनि ब्याटिङका प्रमुख आधार हुनेछन्।
बलिङमा शेर मल्ल र ट्रम्पलम्यानमाथि टोलीको भरोसा रहनेछ। दुवै सिजन उपाधि जितेका शेरले २४ विकेट लिएका छन्। गत सिजन १५ विकेट लिएका ट्रम्पलम्यान प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए।
लुम्बिनीमा अभिषेक गौतम, सन्दीप जोरा, तिलक भण्डारी र किशोर महतोसहित युवा खेलाडी पनि छन्। टोलीले एक्सट्राटेक ओभलमा तयारी गरेको थियो। फर्चुना हेल्थ केयर प्रालिले एक करोड ८६ लाख रुपैयाँमा लुम्बिनीको स्वामित्व खरिद गरेको हो।
उपाधि रक्षा चुनौतीपूर्ण भए पनि रोहितको कप्तानीमा लुम्बिनी त्यसका लागि तयार देखिएको छ।














प्रतिक्रिया दिनुहोस्