काठमाडौं, कात्तिक ९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताउनुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री थापा मगरले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गर्नुभएको हो । “खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र विश्वमञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो,” उहाँले भन्नुभएको छ ।
मुख्यमन्त्री थापा मगरले खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने राजनीतिक सोचलाई एनपीएलले थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बन्ने अपेक्षा पनि गर्नुभएको छ । “खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने हाम्रो राजनीतिक सोचलाई थप बलियो बनाउँदै एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बनोस्,” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, नेपाल क्रिकेट संघ (क्यान), कमेन्टेटर तथा क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाली क्रिकेटको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न एनपीएलले योगदान पुर्याउने अपेक्षा उहाँको शुभकामना सन्देशमा व्यक्त गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्