जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार २०:२३

एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुवात, सुदूरपश्चिम ८७ रनमै समेटियो


काठमाडौं, कात्तिक ९। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ।

आज सम्पन्न खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा डार्सी शर्टले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४ चौका र ३ छक्कासहित ४० रन बनाए। आसिफ शेखले ३२ रनको योगदान दिए। बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो।

सुदूरपश्चिमका लागि दीपेन्द्र सिंह ऐरीले २७, अनिल खरेलले अविजित १५ र सैफ जैबले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका किशोर महतोले ४ तथा शेर मल्लले ३ विकेट लिए। शेड्ली भान शाल्कविक, तिलक भण्डारी र रोहित पौडेलले समान १ विकेट हात पारे।