काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना व्यक्त गर्दै व्यक्ति परिवर्तन भए पनि संस्था र विचार जीवित रहनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
एनपीएलको तेस्रो संस्करणको उद्घाटन र प्रधानमन्त्री बालेन शाहको प्रसङ्ग जोड्दै उहाँले नेपाली कांग्रेसले प्रजातान्त्रिक घर निर्माण गरे पनि धेरै व्यक्तिलाई गुमाएको उल्लेख गर्नुभएको छ ।
उपसभापति भण्डारीले केपी शर्मा ओलीले क्रिकेट मैदान निर्माणमा जोड दिनुभएको र अहिले प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै राजनीतिक नेतृत्व र संस्थाको निरन्तरताबारे टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘कांग्रेसले प्रजातान्त्रिक घर बनायो, धेरै व्यक्ति कांग्रेसले गुमायो । जहाँ बालेन प्रधानमन्त्री बन्ने अवसर पाए । केपी ओलीले क्रिकेट मैदान निर्माणमा जोड दिए, आज बालेनले एनपीएल उद्घाटन गरे ।’
टुँडिखेलमा दुबो रोपिएको र कांग्रेसले स्वच्छ ठाउँमा अधिवेशन सम्पन्न गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले संस्थाभित्रको अवस्था र त्यसको संरक्षणबारे पनि टिप्पणी गर्नुभएको छ ।
भण्डारीले देश र प्रजातान्त्रिक संस्थाहरू जनताका लागि भएको उल्लेख गर्दै संस्थालाई बलियो बनाउनु आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘बुझ्नुपर्ने कुरा यही हो-देश बन्यो जनताका लागि, प्रजातान्त्रिक घर बन्यो जनताका लागि ! प्रजातान्त्रिक घरभित्र व्यक्तिका इच्छाअनुसार कोठाहरू फरक हुन सक्छन्, समय र आवश्यकताअनुसार अतिथि आउन, जान सक्छन्; तर घर बलियो भए मात्र सबैका अवसर सुरक्षित हुन्छन्।’
उहाँले व्यक्ति र नेतृत्व परिवर्तन भइरहने भए पनि संस्था र विचारको निरन्तरता महत्त्वपूर्ण हुनेमा जोड दिनुभएको छ । ‘अतिथि आउँछन्, जान्छन्; संस्था र विचार जीवित रहनुपर्छ,’ उहाँले भन्नुभएको छ ।
साथै, उपसभापति भण्डारीले एनपीएलको सफलताका लागि मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्