जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार १६:२२

घट्यो दसैंपछिको सेयर बजार : लगानीकर्ताको देखियो उत्पादन र व्यापारमा आकर्षण


काठमाडौं, कात्तिक ९ । दशैंअघि सात कारोबार दिनसम्म लगातार बढेको सेयर बजार दशैंपछिको पहिलो कारोबार दिनमा घटेको छ । दशैंपछिको पहिलो दिन सोमबार नेप्से परिसूचक ४.३४ अंक घटेको हो ।

यो अंकको कमीपछि नेप्से २६२९ अंकमा कायम भएको छ । यस्तै सोमवार ९९ कम्पनीको मूल्य बढदा १७१ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । सोमवार कारोबार रकम पनि घटेको छ । यसअघि ४ अर्ब ८८ करोडको कारोबार भएकोमा सोमवार ४ अर्बको कारोवार भयो ।

सोमवार उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने आकर्षण देखिएको छ । उत्पादन तथा प्रशोधन समूह १.०३ तथा व्यापार १.११ प्रतिशत बढे । व्यापार समूहको विशाल बजार कम्पनीको मूल्य १.४१ प्रतिशत बढ्दा यो समूह बढेको हो । विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा २ कम्पनी यो समूहमा पर्दछन् । पूँजीकरण उच्च भएकाले विशाल बजारले नै समग्र समूहलाई प्रभाव पार्दछ ।

यसैगरी सिमेन्ट कम्पनीहरूको मूल्यवृद्धिले उत्पादन तथा प्रशोधन समूहलाई उचाल्यो । हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युतको ५.८१, सोनापुर सिमेन्टको ५.०७, सगरमाथा जलविद्युत् कम्पनीको ४.७२, घोराही सिमेन्टको ४.४७, सानिमा मिडिल तमोरको ३.८४, सानिगढ हाइड्रोको ३.७८ प्रतिशत मूल्य बढ्यो ।

सोमवार चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशत घट्यो । महिला लघुवित्त वित्तीय संस्थाको ७.५७, गुराँस लघुवित्तको ५.८१, एसियन हाइड्रोपावरको ४.३४, अपोलो हाइड्रोपावरको ४.१६, शुभम् पावरको ४.११ प्रतिशत मूल्य घट्यो ।

सोमवार धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक, सानिमा मिडिल तमोर क्रमशः अगाडि रहे ।