काठमाडौं, कात्तिक १० । इजरायलमा आज मंगलबार आमनिर्वाचन हुँदैछ। निर्वाचनको परिणामले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा नयाँ सरकार गठन हुने भन्ने निर्धारण गर्नेछ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो आमनिर्वाचन हो।
नेतान्याहुलाई चुनौती दिन पूर्वसैनिक प्रमुख गादी आइजेनकोट, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड र पूर्वरक्षामन्त्री एविग्डोर लिबरम्यानलगायतका नेता मैदानमा छन्। आइजेनकोट आफ्नो नयाँ मध्यमार्गी दल ‘याशर’ मार्फत प्रतिस्पर्धामा हुनुहुन्छ भने बेनेट र लापिडले ‘टुगेदर’ गठबन्धनमार्फत सहकार्य गरेका छन्।
नेतान्याहुका समर्थकले उहाँलाई सुरक्षा मामिलामा अनुभवी नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्। तर आलोचकहरूले हमासको आक्रमणका बेला सुरक्षा व्यवस्थामा भएको कमजोरी र उहाँमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपलाई लिएर प्रश्न उठाउँदै आएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
नेतान्याहुको गठबन्धनलाई अर्थमन्त्री बेजालेल स्मोट्रिच र राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरलगायत दक्षिणपन्थी नेताहरूको समर्थन छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नेतान्याहुलाई समर्थन गर्दै आउनुभएको छ।
इजरायलको संसद् नेसेटमा १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। मतदाताले राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली भएकाले कुनै एक दलले स्पष्ट बहुमत नल्याए विभिन्न दलबीच गठबन्धन आवश्यक हुनेछ।
निर्वाचनमा नेतान्याहुको गठबन्धन र विपक्षी दलहरूले प्राप्त गर्ने सिट तथा साना दलहरूको समर्थनले आगामी सरकार गठनको समीकरण निर्धारण गर्नेछ। आधिकारिक नतिजा नोभेम्बर ४ मा प्रकाशित हुने तालिका रहेको छ।














प्रतिक्रिया दिनुहोस्