काठमाडौं, कात्तिक १० । बडादशैंको अवधिमा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना तथा अन्य दुर्घटनामा परी ठूलो मात्रामा जनधनको क्षति भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआइजी) अबिनारायण काफ्लका अनुसार दशैंको अवधीमा देशभर एक हजार ३३९ वटा सवारी दुर्घटना भई १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन ।
प्रहरीका अनुसार दशैं सुरु भएपछि असोज ३१ गतेदेखि कात्तिक ९ गतेसम्म देशका विभिन्न जिल्लामा दुर्घटना भएका छन्। दुर्घटनामा परी कैयौँ व्यक्तिले ज्यान गुमाएका छन धेरै जना घाइते तथा केही व्यक्ति बेपत्ता भएका छन ।
प्रहरी प्रधान कार्यालयको विवरणअनुसार असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म देशभर एक हजार ३३९ वटा सवारी दुर्घटना भएका छन । ती दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका हुन ।
गुल्मीमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भए । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको जिप सोमवार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि पाल्पास्थित अस्पताल पठाइएको समाचारमा उल्लेख छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता
सप्तकोशी नदीमा भएको मोटरबोट दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । भोजपुरको हतुवागढी क्षेत्रबाट सुनसरीको चतरातर्फ जाँदै गरेको मोटरबोट धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणी क्षेत्रमा दुर्घटनामा परेको हो ।
दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी उद्धार तथा बेपत्ता व्यक्तिको खोजीमा परिचालित भएका थिए। दुर्घटनामा चालकसहित केही यात्रुलाई जीवितै उद्धार गरिएको थियो। प्रारम्भिक विवरणमा मोटरबोटको ब्रेकमा समस्या आएको उल्लेख गरिएको थियो।
सिन्धुलीमा सुमो सुनकोशीमा खस्दा तीन जनाको मृत्यु
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको ज्यान गयो । दुर्घटनामा तीन जना बेपत्ता भएका छन । दुर्घटनामा चार जना घाइते हुनुभएको समाचारमा उल्लेख छ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो मध्यपहाडी राजमार्गबाट करिब २०० मिटर तल नदीतर्फ खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो ।
उदयपुरमा एसयूभी दुर्घटना हुँदा १५ जना घाइते
उदयपुरको कटारी नगरपालिका–४ मरुवामा एसयूभी दुर्घटना हुँदा १५ जना घाइते भएका छन । सिद्धिचरण राजमार्गमा गुडिरहेको सवारी साधनको ब्रेकमा समस्या आएपछि अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीसम्बन्धी समाचारमा उल्लेख छ।














प्रतिक्रिया दिनुहोस्