जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार १६:५३

दक्षिणका जोगीकाे खुट्टा समातेर ढोग्ने, आफ्नै देशका विद्वानलाई  महत्त्व नदिने प्रवृत्ति बढेकाे छ : केपी ओली 


काठमाडौं, कात्तिक १० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा धार्मिक आस्था र व्यक्तिपूजाको प्रवृत्तिमाथि टिप्पणी गर्दै अहिले नक्कली भगवान् जन्मिने क्रम बढेको बताउनुभएको छ। उहाँले नेपाली विद्वान् तथा आफ्नै ज्ञान परम्परालाई पर्याप्त महत्त्व नदिने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भगवान् र देवतासम्बन्धी प्रचलित मान्यतामाथि व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दा भगवानहरु छ्यासछ्यास्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए। धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मन पाएनन्। तर अहिले नक्कली भगवान् जन्मिएर हैरान छ।”

अध्यक्ष ओलीले बाहिरबाट आएका धार्मिक गुरु तथा जोगीलाई बढी महत्त्व दिने, तर आफ्नै देशका विद्वान् र उनीहरूले दिएका ज्ञान तथा विचारलाई अपेक्षित महत्त्व नदिने प्रवृत्ति रहेको पनि बताउनुभयो।

उहाँका अनुसार नेपाली समाजमा विदेशी विद्वान्का विचार र लेखनलाई बढी उद्धृत गर्ने, तर नेपाली विद्वान्ले लेखेका ग्रन्थ तथा दिएका योगदानबारे पर्याप्त चर्चा नगर्ने प्रवृत्ति देखिन्छ। “दक्षिणतिरबाट जोगीहरू आए उनीहरूको खुट्टा समातेर ढोग्न मन लाग्ने, तर आफ्नै देशका विद्वान्लाई त्यति महत्त्व नदिने प्रवृत्ति छ,” उहाँले टिप्पणी गर्नुभयो।

नेपाली विद्वान्का ज्ञान र योगदानलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै अध्यक्ष ओलीले भन्नुभयो, “आफ्ना कहाँका विद्वान् चाहिँ हामी त्यति चिन्दैनौँ। सम्भवतः तपाईँहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखेका कुराहरूको उद्धरण कमै गर्नुभएको होला, विदेशीकै उद्धरण गर्नुभएको होला।”

अध्यक्ष ओलीको अभिव्यक्तिले नेपाली ज्ञान परम्परा, स्वदेशी विद्वान्को योगदान र समाजमा स्थापित हुँदै गएका धार्मिक तथा व्यक्तिपूजासम्बन्धी प्रवृत्तिमाथि बहसको विषय अघि सारेको छ।