जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार १६:२९

एमालेको राष्ट्रिय भेलामा ३ हजार ३४७ जना सहभागी हुने, केपी ओलीदेखि शंकर पोखरेलसम्मले सम्बोधन गर्ने


काठमाडौं, कात्तिक १० । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गर्ने राष्ट्रिय भेलामा पार्टीको राजनीतिक दिशा, संगठन सुदृढीकरण र स्थानीय तहको निर्वाचन रणनीतिलाई मुख्य एजेन्डा बनाउने भएको छ। भेलामा अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेलसम्मका शीर्ष नेताले विभिन्न विषयमा धारणा राख्ने कार्यक्रम तय गरिएको छ।

एमाले नेता सूर्य थापाले सार्वजनिक गर्नुभएको जानकारीअनुसार राष्ट्रिय भेलामा कुल ३ हजार ३४७ जनाको सहभागिता रहनेछ। पार्टीको केन्द्रीय संगठन विभागको आयोजनामा हुन लागेको भेलाका लागि आवश्यक तयारी तीव्र पारिएको छ।

भेलाको तयारीका लागि आयोजित बैठक पार्टी सचिव तथा केन्द्रीय संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा प्रमुख अतिथिका रूपमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र विशिष्ट अतिथिका रूपमा महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो।

ओलीले राजनीतिक मार्गदर्शन गर्ने, पोखरेलले निर्वाचन रणनीति प्रस्तुत गर्ने

राष्ट्रिय भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘वर्तमान परिप्रेक्ष्यमा पार्टीको राजनीतिक मार्गदर्शन’ विषयमा धारणा राख्नुहुने कार्यक्रम तय गरिएको छ। सोही विषयमा वरिष्ठ नेता विद्यादेवी भण्डारीले मन्तव्य राख्नुहुनेछ।

त्यसैगरी, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ‘नेकपा (एमाले)ले गरेका कामहरू’ शीर्षकमा प्रस्तुति दिनुहुनेछ। महासचिव शंकर पोखरेलले भने पार्टीको सुदृढीकरण र स्थानीय तहको निर्वाचन कार्ययोजनाबारे आफ्नो धारणा प्रस्तुत गर्नुहुनेछ।

भेलामा आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन के गर्नुपर्छ भन्ने विषयमा सहभागीहरूबाट सुझावसमेत संकलन गरिनेछ। यसका लागि विशेष फाराम वितरण गरी सहभागीका महत्वपूर्ण सुझाव लिखित रूपमा लिने व्यवस्था गरिएको नेता थापाले उपलब्ध गराउनुभएको विवरणमा उल्लेख छ।

केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिको सहभागिता

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, संघीय संसद् तथा प्रदेशसभाका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ।

प्रदेश कमिटीअन्तर्गत प्रवास, सम्पर्क तथा उपत्यका विशेष कमिटीका प्रतिनिधिसमेत सहभागी हुनेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्षलाई पनि भेलामा सहभागी गराइनेछ।

त्यसैगरी, निर्वाचित मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न जनसंगठनबाट तोकिएको संख्यामा प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ। जनसंगठनका प्रतिनिधिको संख्या अनुसूची १ र २ मा निर्धारित मापदण्डअनुसार क्रमशः पाँच र तीन जनाका दरले रहने जनाइएको छ।

एमालेले राष्ट्रिय भेलालाई पार्टीको राजनीतिक मार्गदर्शन स्पष्ट पार्ने, संगठनलाई थप सुदृढ बनाउने र आगामी स्थानीय तहको निर्वाचनका लागि ठोस कार्ययोजना तयार गर्ने अवसरका रूपमा अघि सारेको छ। भेलाबाट प्राप्त सुझावका आधारमा पार्टीको निर्वाचन तयारी र संगठन परिचालनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।