जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार १६:०६

आनी  छोइङ डोल्माको नियुक्तिको विरोधमा प्रदर्शन गरेकाे आराेपमा पक्राउ परेका अकरम खाँन रिहा


काठमाडौं, कात्तिक १० । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोधमा पर्यटनमन्त्रीको पुत्ला दहन गरेको घटनामा पक्राउ पर्नुभएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँन रिहा हुनुभएको छ। उहाँसँगै पक्राउ पर्नुभएका अर्का व्यक्ति वाजिउद्दिन मुसलमान पनि रिहा हुनुभएको छ।

खाँनका अनुसार प्रहरीले उहाँलाई राति नियन्त्रणमा लिएर बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि रिहा गरेको हो। आफू होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे रुपन्देहीकाे प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो।

आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्‍याएको खाँनको भनाइ छ। त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उहाँले बताउनुभयो।

खाँनका अनुसार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खाँनको रोहवरमा उहाँका भाइ फकरुद्दिन खाँनको जिम्मा लगाएर प्रहरीले रिहा गरेको हो।रिहाइका क्रममा भएको छलफलमा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध तथा पुत्ला दहनजस्ता गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सुझाव दिएको खाँनले जानकारी दिनुभयो।

रिहाइपछि पत्रकारहरूसँग कुरा गर्दै खाँनले लुम्बिनीको हकहित, विकास र संरक्षणका विषयमा आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताउनुभयो। सरकारका निर्णय र लुम्बिनीप्रतिको बेवास्ताविरुद्ध विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन तथा सभा आयोजना गर्नुका साथै मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्रसमेत बुझाइएको उहाँको भनाइ छ।

आफूहरू कानुनी राज्यको सम्मान गर्ने उल्लेख गर्दै खाँनले लुम्बिनीवासीको हकहितका लागि अभियानलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो।