जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार २१:२८

बलिङमा चम्कियो कर्णाली, एनपीएलमा जनकपुरलाई १९ रनले हराउँदै विजयी सुरुवात


काठमाडौं, कात्तिक १०। ब्याटिङमा मध्यम योगफल बनाए पनि कसिलो बलिङको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो। लक्ष्य पछ्याउने क्रममा जनकपुरका ब्याटरले उल्लेख्य साझेदारी गर्न नसक्दा टोली पराजित हुन पुग्यो।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। मोइन अली र हरमीत सिंहले समान १९ रन जोड्दा जिमी निशमले १५, मयन यादवले १४ तथा अनिल शाहले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीको जितमा हुसेन तलात र युनिश ठकुरीले निर्णायक भूमिका खेले। दुवैले समान तीन विकेट लिए। नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट झारेपछि जनकपुरको इनिङ्स ११३ रनमै सीमित भयो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान दिए। पवन सर्राफले ३७ रन जोड्दा दीपक डुम्रेले १३ र गुलशन झाले १२ रन बनाए। अन्य ब्याटरले ठूलो योगदान दिन नसक्दा कर्णाली मध्यम योगफलमा रोकिएको थियो।

जनकपुरका बलरमध्ये हरमीत सिंहले तीन विकेट लिए। राहुल यादव र मोइन अलीले समान दुई विकेट हात पार्दा ललित राजवंशीले एक विकेट लिए।

ब्याटिङमा ठूलो योगफल बनाउन नसके पनि बलिङमा विपक्षीलाई दबाबमा राख्दै कर्णालीले जित निकाल्यो। जनकपुर भने लक्ष्य पछ्याउने क्रममा लगातार विकेट गुमाउँदा पहिलो खेलमै पराजित हुन पुग्यो।