जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार २०:५२

जितअघि नै उत्सव मनाउने सोच्दा चितवनसँग हार्‍यौँ : सन्दीप लामिछाने


काठमाडौँ, कात्तिक १० । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले जित निश्चित भएको ठानेर चाँडै उत्सवको मुडमा पुग्दा चितवन राइनोजसँग हार बेहोर्नुपरेको बताएका छन् ।

चितवनसँग ८ रनको साँघुरो हारपछि प्रतिक्रिया दिँदै सन्दीपले खेलको पहिलो इनिङदेखि दोस्रो इनिङको १६औँ ओभरसम्म आफ्नो टोली बलियो अवस्थामा रहे पनि त्यसपछि हतारमा खेल्दा नतिजा गुमाउनुपरेको बताए ।

उनका अनुसार १६औँ ओभरपछि खराब सट खेल्नु र लामो समय क्रिजमा रहेका ब्याटरलाई नन-स्ट्राइकमा राख्नु हारका प्रमुख कारणमध्ये थिए । प्राप्त अवसर सदुपयोग गर्न नसक्नु र हतारिनुको परिणाम यस खेलबाट सिकेको उनले बताए ।

जितको नजिक पुग्न पहिलो इनिङदेखि नै धेरै खेलाडीले मिहिनेत गरे पनि अन्तिम पाँच ब्याटरले त्यसको सदुपयोग गर्न नसकेको सन्दीपको भनाइ थियो । आगामी खेलमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि उनले जनाए ।

नयाँ ब्याटरका लागि पिचमा खेल्न सहज नभएको उल्लेख गर्दै सन्दीपले अनुभवी ब्याटरले धैर्य नगुमाएको बताए । यद्यपि, टोलीको सट छनोट कमजोर रहेको उनले स्वीकार गरे ।

चितवन राइनोज बलियो टोली रहेको उल्लेख गर्दै उनले टी–२० क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर आँकलन गर्न नहुने बताए । चितवनका बलरले राम्रो प्रदर्शन गरेको र आफ्नो टोलीको मध्यक्रम तथा तल्लो क्रमका ब्याटरले अपेक्षाअनुसार खेल्न नसकेको उनको विश्लेषण थियो ।

सन्दीपले आन्द्रे रसेलले राम्रो खेले पनि खेल जिताउने गरी अन्त्य गर्न नसकेको बताए । अहिले नै कुनै खेलाडीको प्रदर्शनबारे निष्कर्ष निकाल्नु हतार हुने उनको भनाइ थियो ।