जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार २०:५९

एनपीएलमा चितवन र कर्णालीको विजयी सुरुवात, विराटनगर र जनकपुर पराजित


काठमाडौँ, कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोज र कर्णाली याक्सले विजयी सुरुवात गरेका छन् । मंगलबार भएका खेलमा चितवनले विराटनगर किङ्ग्सलाई ८ रनले र कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा अलआउट भयो ।

विराटनगरका इमरान शेखले सर्वाधिक ३९ रन बनाए । आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन जोडे । एक समय पाँच विकेट गुमाएर १३२ रन बनाएको विराटनगरले त्यसपछि थप १७ रन जोड्दा बाँकी सबै विकेट गुमायो ।

चितवनका कमल ऐरीले चार तथा रिजन ढकालले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए । विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए ।

यसैगरी, मंगलबारकै दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर ३ बलमा ११३ रनमा समेटियो ।

जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोडे भने जिम्मी निशमले १५ रन बनाए ।

जनकपुरलाई कम योगफलमा रोक्ने क्रममा कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान तीन विकेट लिए । नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका अरिफुल इस्लामले सर्वाधिक ४३ र पवन सर्राफले ३७ रन बनाए । जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए भने मोइन अली र राहुल यादवले समान दुई विकेट हात पारे ।

एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।