जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार २०:४९

आनी छोइङको नियुक्ति विवादमा कांग्रेसको आपत्ति, प्रश्न उठाउनेलाई नतर्साउन चेतावनी


काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर उठेका प्रश्न सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले नियुक्तिबारे प्रश्न उठाउने नागरिकमाथि धरपकड गर्नु उचित नभएको बताउनुभएको छ । उहाँले विवादित निर्णय सच्याउनुको सट्टा प्रश्न गर्नेहरूलाई तर्साउने सरकारी रवैयाको विरोध गर्नुभएको हो ।

लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतासँगै योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई पनि आधार बनाउनुपर्ने उहाँको भनाइ छ ।

महामन्त्री पौडेलले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गर्नुभएको छ । आनी छोइङको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ दिनुपर्ने उहाँले बताउनुभएको छ ।

‘राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ,’ उहाँले भन्नुभएको छ, ‘गलत निर्णय भएको छ भने सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन।’