जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार २०:२३

छोरीको कानुनी विवाह छुटाउन प्रहरी प्रमुखमाथि दबाब दिएको आरोपमा रास्वपा धनुषा सभापति निलम्बित


जनकपुरधाम, कात्तिक १० । छोरीले गरेको कानुनी विवाह छुटाउन तथा युवकलाई पक्राउ गर्न प्रहरीमाथि दबाब दिएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादव निलम्बनमा पर्नुभएको छ ।

धनुषाको हंसपुर नगरपालिका–८ का यादवले असोज १७ गते आफ्नी छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिनुभएको थियो । प्रहरीको अनुसन्धानका क्रममा उहाँकी २७ वर्षीया छोरीले काठमाडौं जिल्ला अदालतमा २३ वर्षीय युवकसँग कानुनी विवाह गरेको प्रमाण फेला परेको थियो ।

प्रहरीका अनुसार विवाह कानुनअनुसार भएको देखिएपछि युवकलाई पक्राउ गर्न मिल्ने अवस्था थिएन । तर, यादवसहित केही राजनीतिक नेता तथा सांसदले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्कामाथि युवकलाई पक्राउ गर्न दबाब दिएको आरोप छ ।

यसै विषयमा आयोजित पार्टीको शुभकामना आदानप्रदान कार्यक्रममा यादवले प्रहरी प्रमुख खड्काको कार्यशैलीको आलोचना गर्दै उहाँमाथि विभिन्न आरोप लगाउनुभएको थियो । त्यसपछि एसपी खड्काले विज्ञप्ति जारी गर्दै आफू र प्रहरी संगठनमाथि लगाइएका आरोप भ्रामक तथा तथ्यहीन रहेको बताउनुभयो । उहाँले आरोप पुष्टि गर्न चुनौतीसमेत दिनुभयो ।

घटनापछि रास्वपा मधेश प्रदेश कार्यालयले यादवलाई निलम्बन गर्दै उहाँसँग सार्वजनिक अभिव्यक्ति, पारिवारिक मामिलामा पदको दुरुपयोग गरेको आरोप, प्रहरीलाई दिएको धम्की र पार्टीको आचारसंहितासम्बन्धी विषयमा तीन दिनभित्र पाँच बुँदामा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए पार्टी विधानअनुसार थप कारबाही गरिने चेतावनी दिइएको छ ।