जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार २०:४६

लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरम खान रिहा


बुटवल, कात्तिक १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को पुत्ला दहन गरेको आरोपमा पक्राउ पर्नुभएका लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरम खान रिहा हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहबरमा उहाँलाई भाइ फकरुद्दिन खानको जिम्मा लगाएर रिहा गरिएको हो ।

खानका अनुसार उहाँलाई राति साढे १० बजे होटलतर्फ जाँदै गर्दा प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्‍याएको उहाँको आरोप छ ।

त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उहाँले बताउनुभयो । बिहान प्रहरी अधिकारीहरूसँग छलफल भएपछि आफू रिहा भएको उहाँले जानकारी दिनुभयो ।

छलफलका क्रममा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध तथा पुत्ला दहन नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सुझाव दिएको पनि उहाँले बताउनुभयो ।