जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार २०:४०

‘नक्कली भगवान् जन्मिएर हैरान पारे’ : अध्यक्ष ओली


काठमाडौं, कात्तिक १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवान् जन्मिने क्रम बढेको भन्दै व्यङ्ग्य गर्नुभएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति टिप्पणी गर्नुभएको हो ।

उहाँले पार्वतीले देवताहरूलाई श्राप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको प्रसंग उल्लेख गर्नुभयो । भारतबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्तिप्रति पनि उहाँले व्यङ्ग्य गर्नुभयो ।

अध्यक्ष ओलीले नेपाली समाजले स्वदेशी विद्वान् र लेखकका विचारभन्दा विदेशी लेखकका लेख तथा विचारलाई बढी महत्त्व दिने गरेको टिप्पणीसमेत गर्नुभयो ।