काठमाडौं, कात्तिक १० । क्यामेराजडित चस्मा (स्मार्ट ग्लास) प्रयोग गरेर बालबालिका तथा अन्य व्यक्तिका भिडियो खिची सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रतिनिधिसभा सदस्य आशिका तामाङको भूमिका र व्यक्तिगत गोपनीयतासम्बन्धी कानुनी सीमाबारे प्रश्न उठेको छ ।
तामाङले कात्तिक ६ गते आफ्नो आधिकारिक फेसबुक खाताबाट सार्वजनिक गरेका दुई भिडियोमा बालबालिका देखिएका छन् । एउटा भिडियोमा बालकले समातेको भ्यागुता खोलामा फालिदिएको दृश्य छ भने अर्कोमा हातमा मदिरा भएको भनिएको सामग्री बोकेर हिँडिरहेकी बालिका देखिन्छिन् । दुवै भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयता र पहिचान सुरक्षाबारे आलोचना भएको थियो ।
आलोचनापछि तामाङले दोस्रो भिडियोमा बालिकाको अनुहार ब्लर गर्नुभएको थियो । उहाँले बालिकाको अनुहार नछोप्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्तो त्रुटि नदोहोर्याउने बताउनुभएको छ । उहाँले आफूले व्यक्तिगत स्वार्थभन्दा पनि सामाजिक जनचेतना फैलाउने उद्देश्यले भिडियो बनाएको स्पष्ट पार्नुभएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिका वा अभिभावकको अनुमति र सहमतिबिना उनीहरूको तस्बिर वा भिडियो सार्वजनिक गर्न नहुने बताउनुभएको छ । उहाँका अनुसार जनप्रतिनिधिको काम कानुन निर्माण, छलफल र आवश्यक निकायमार्फत कानुन कार्यान्वयनका लागि पहल गर्नु हो ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ११ ले बालबालिकाको गोपनीयताको हक सुनिश्चित गरेको छ । ऐनले बालबालिकाको चरित्रमा आघात पुग्ने वा उनीहरूलाई लज्जित तथा अपहेलित बनाउने किसिमका व्यक्तिगत विवरण, तस्बिर र भिडियो प्रकाशन तथा सार्वजनिक गर्न रोक लगाएको छ ।
अधिवक्ताहरू पवित्रा राउत र सन्तोष सिग्देलले पनि बालबालिकाको पहिचान र गोपनीयता संरक्षणमा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभएको छ । उनीहरूका अनुसार क्यामेराजडित चस्माको प्रयोगलाई मात्र प्रतिबन्ध लगाउने स्पष्ट व्यवस्था नभए पनि त्यसबाट खिचिएका सामग्री सार्वजनिक गर्दा व्यक्तिको गोपनीयतासम्बन्धी कानुन आकर्षित हुन सक्छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्दा थप जिम्मेवार हुनुपर्ने कानुनविद्हरूको जोड छ । जनचेतना फैलाउने उद्देश्य भए पनि त्यस क्रममा अरूको गोपनीयता र कानुनी अधिकारमा असर पर्न नदिनुपर्ने उनीहरूको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्