जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार १९:४१

जापानी सद्भावको उपहार : गेलु भुलभुलेको पशुपति आधारभूत विद्यालयमा नयाँ भवन


रामेछाप, कात्तिक १० । जापानको एक सहयाेगी संस्थाकाे आर्थिक सहयोगमा रामेछापको मन्थली नगरपालिका–१२, भुलभुलेस्थित पशुपति आधारभूत विद्यालयको चारकोठे दुईतले भवन निर्माण गरिएको छ। विदेशी सहयोग र स्थानीय समन्वयबाट निर्माण सम्पन्न भएको उक्त भवन मंगलबार विद्यालयलाई हस्तान्तरण गरिएको हो।

विद्यालयका पूर्वविद्यार्थी तथा नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्वअध्यक्ष शान्तकुमार पहरीको समन्वयमा जापानको निचिनोकेन कान्तो कम्पनीले विद्यालय भवन निर्माणका लागि २९ लाख ७३ हजार ४३५ रुपैयाँ आर्थिक सहयोग गरेको थियो। कम्पनीको सहयोगमा निर्माण भएको भवनले विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्नुका साथै विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

नवनिर्मित विद्यालय भवनको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ र जापानको निचिनोकेन कान्तो कम्पनीका प्रमुख कोजिमा ताकाशीले मंगलबार संयुक्त रूपमा गर्नुभएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख श्रेष्ठले विद्यालय भवन निर्माणमा सहयोग पुर्‍याएकोमा जापानी कम्पनीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र, स्वदेशी तथा विदेशी सहयोगी संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

नगरप्रमुख श्रेष्ठले जापान सरकार तथा निचिनोकेन कान्तो कम्पनीलाई नेपाल र मन्थली नगरपालिकाको शैक्षिक विकासमा आगामी दिनमा पनि सहयोग निरन्तर राख्न आग्रह गर्नुभयो। त्यसका लागि स्थानीय सरकार आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।

उहाँले मन्थली नगरपालिका र जापानका नगरहरूबीच भाइचाराको सम्बन्ध स्थापना गरी आपसी संस्कार, संस्कृति र अनुभव आदानप्रदान गर्न नगरपालिका इच्छुक रहेको पनि बताउनुभयो। यस्तो सम्बन्धले दुई पक्षबीचको सहकार्यलाई थप विस्तार गर्न र शिक्षा तथा अन्य विकासका क्षेत्रमा सहयोगका नयाँ अवसर सिर्जना गर्न सक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा निचिनोकेन कान्तो कम्पनीका प्रमुख ताकाशीले शिक्षासँग व्यक्ति र गाउँको मात्र नभई सिंगो देशको भविष्य जोडिएको बताउनुभयो। उहाँले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर पाएका नेपाली विद्यार्थीले भविष्यमा आफ्नो देशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष पहरीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आगामी दिनमा पनि थप सहयोग आवश्यक रहेको बताउनुभयो। त्यसका लागि आफूहरूले थप सहयोगका योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो।

भवन उद्घाटनका अवसरमा विद्यालयलाई कम्प्युटर, प्रिन्टर तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो। साथै विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्रीसमेत प्रदान गरिएको थियो। यस सहयोगले विद्यालयको पठनपाठनलाई थप व्यवस्थित बनाउन र विद्यार्थीको सिकाइलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निचिनोकेन कान्तो कम्पनीले नेपालमा हालसम्म आठवटा विद्यालयका भवन निर्माणमा सहयोग गरिसकेको छ। यस चरणमा निर्माण सम्पन्न भएका तीनवटा विद्यालय भवन हस्तान्तरण गर्न कम्पनीको टोली नेपाल आएको हो।

जापानी कम्पनीको यो सहयोगले स्थानीय तहमा शैक्षिक पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यको महत्व उजागर गरेको छ। यस्ता सहयोगले विद्यालयको भौतिक अवस्था सुधार गर्न मात्र नभई नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास तथा शैक्षिक सहकार्यलाई थप मजबुत बनाउनसमेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।