काठमाडौं, कात्तिक १५ । डोल्पाको से–फोक्सुन्डो गाउँपालिकामा अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन हुनुभएको छ।
डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट से-फोक्सुन्डो तालतर्फ जाने क्रममा नुमला पास र वागला पास क्षेत्रबाट उहाँहरू सम्पर्कविहीन हुनुभएको हो। चक्रवात ‘अर्नब’को प्रभावले हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको आशंका गरिएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार सम्पर्कविहीन पर्यटकहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। उद्धार कार्यलाई सहज बनाउन हेलिकप्टरसमेत माग गरिएको उहाँले जानकारी दिनुभएको छ।
सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहनुभएको छ। उक्त क्षेत्रमा सञ्चार सुविधा नहुँदा उहाँहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल उपल्लो डोल्पामा २४४ जना पर्यटक रहनुभएको छ। प्रतिकूल मौसमलाई मध्यनजर गर्दै प्रशासनले पर्यटकहरूलाई जोखिमपूर्ण क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्