काठमाडौं, कात्तिक १५ । पोखराबाट काठमाडौं आउँदै गरेको हाइस धादिङको गल्छीमा दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ भने नौ जना यात्रु घाइते भएका छन्।
शनिबार साँझ गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बा.प्र.०१–००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भएर सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा हाइसले सडकमा हिँडिरहेका स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई च्यापेको थियो। उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल पठाइएका अधिकारीलाई चिकित्सकले राति पौने ९ बजे मृत घोषणा गरेका थिए।
हाइसमा चालकसहित १० जना सवार रहेकामा नौ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनालाई बैरेनी अस्पताल र तीन जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
बैरेनी अस्पतालमा उपचारका लागि पठाइएका घाइतेमा लमजुङका ३० वर्षीय सजन गुरुङ, सोलुखुम्बुका ३१ वर्षीय चन्द्र नाछिरिङ राई, स्याङ्जाका २७ वर्षीय नवराज चौलागाईं, २३ वर्षीय युवराज पौडेल, सोलुखुम्बुका २९ वर्षीय भरत राई र भोजपुरका २३ वर्षीय सुरेन्द्र तामाङ छन्।
त्यस्तै, काठमाडौं ट्रमा सेन्टर पठाइएका घाइतेमा पोखराकी तिला नेपाली, स्याङ्जाकी ३३ वर्षीया सुनिता राई र कास्कीका ३९ वर्षीय राजकुमार ढकाल छन्।
हाइस चालकलाई प्रहरीले चौकी बैरेनीको नियन्त्रणमा लिएको छ।














प्रतिक्रिया दिनुहोस्